डा. केसीका समर्थकहरुद्वारा वीरगञ्जमा दोस्रो दिन पनि प्रदर्शन

Post Thumbnail

दिपू बर्णवाल

वीरगञ्ज । स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको लागि १९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जका सचेत नागरिकहरुले आज दोस्रो दिनपनि प्रदर्शन गरेका छन् । वीरगञ्जका सचेत नागरिक समाजमा आबद्ध चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलका व्यक्तिहरुले डाक्टर केसीले उठाएको मुद्दाहरुलाई सम्बोधन गर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या र बेतिथिहरुलाई समाधान गर्ने माग राखेर १९ औं पटक अनसन गरिरहेका डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले कुनै पहल समेत नगरेको प्रदर्शनकारीहरुले आक्रोश व्यक्त गरेका थिए ।

अनसन ऐक्यबद्धता जनाउन पुगेका अभियानकर्ता एवम् जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफले डाक्टर केसीको मागहरुलाई सम्बोधन नगरेर सङ्घीय सरकारले मेडिकल माफियाहरुको संरक्षणमा लागेको आरोप लगाए । उनले माफियालाई कारवाही गर्नुको सट्टा प्रधानमन्त्री र देशका वरिष्ठ नेतासमेत माफियालाई जोगाउनु दुर्भायापूर्ण भएको बताए ।
मेडिकल माफियाहरुको चंगुलमा रहेको स्वास्थ्य र स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार ल्याएर देशलाई प्रगति तिर उन्मुख गर्नूपर्ने सट्टा सरकार माफियाहरुको संरक्षण गरेको भन्दै प्रदर्शनकारीहरुले दैनिक बिहान ७ बजे प्रदर्शन गर्न जानेका छन् ।

यसैबीच, सरकार र डाक्टर गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ । हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । तर समय भने तय भइसकेको छैन । सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले आफू दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि बैठक बस्ने योजनामा रहेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस